नियम १४
बैङ्क जमानत र धरौटी फुकुवाका लागि निवेदन दिनु पर्ने
(१) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले नियम १२ को अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नका लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछः–
(क) नियम १० बमोजिम मालवस्तु पैठारी गरेको प्रमाण,
(ख) तयारी मालवस्तु निकासी गरेको प्रमाण,
(ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण,
(घ) सम्बन्धित निकायबाट प्रमाणित कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थ (प्याकिङ्क मेटेरियल समेत) को खपत अनुपातको
प्रमाण ।
(२) बण्डेड वेयरहाउसको सुविधा अन्तर्गत करमुक्त पसलबाट बिक्री गर्न मालवस्तु पैठारी गर्ने व्यक्तिले पैठारी गरेको मालवस्तु नियम १२ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र करमुक्त पसलबाट बिक्री गरेको प्रमाण संलग्न गरी आफूले राखेको बैङ्क जमानत वा धरौटी फुकुवा गर्नका लागि बैङ्क जमानत वा धरौटी राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(३) …………….
(४) नियम ११ को उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगले उक्त धागोबाट कपडा बनाई धागो पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी बिक्री गरेको प्रमाण, उक्त कपडा खरिद गर्ने तयारी पोशाक उद्योग र धागो पैठारी गर्ने कपडा उद्योगबीच भएको खरिद बिक्री सम्झौता, सम्बन्धित निकायबाट प्रमाणित भएको धागोको
खपत अनुपातको प्रमाण र कपडा खरिद गर्ने तयारी पोशाक उद्योगको अनुरोधमा जारी गरिएको धागो पैठारी गर्दा लागेको महसुल वापतको बैङ्क जमानत संलग्न गरी आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नका लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(४क) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि धागो पैठारी गर्ने उद्योगले सो धागोबाट कपडा बनाई तयारी पोशाक उद्योगलाई बिक्री गरे पछि पनि आफूले राखेको बैंक जमानत फुकुवा नगराई त्यस्तो तयारी पोशाक उद्योगले तयारी पोशाक निकासी गरे पछि मात्र बैंक जमानत फुकुवा गराउन चाहेमा उपनियम (४) मा उल्लिखित कागजातको अतिरिक्त कपडा खरिद गर्ने तयारी पोशाक उद्योगले सो कपडाबाट तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृिद्ध गरी निकासी गरेको प्रमाण, सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण र सम्बन्धित बैङ्कले प्रमाणित गरेको निकासी गर्ने उद्योगले विदेशी मुद्रा आर्जन गरेको प्रमाण संलग्न गरी धागो पैठारी गरेको मितिले बाइस महिनाभित्र बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(५) नियम ११ को उपनियम (२) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगबाट कपडा खरिद गर्ने निकासीमूलक तयारी पोशाक उद्योगले उपनियम (४) बमोजिम धागो पैठारी गर्ने उद्योगले राखेको बैङ्क जमानत फुकुवा गर्न भन्सार कार्यालयमा पेश गरेको बैङ्क जमानत फुकुवा गर्नका लागि धागो पैठारी गर्ने कपडा उद्योगबाट खरिद गरेको कपडाबाट खरिद गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(६) नियम १० को उपनियम (६) बमोजिम मालवस्तु पैठारी गर्दा राखेको बैङ्क जमानत फकुवा गर्नका लागि नियम १२ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १३ बमोजिम म्याद थप भएकोमा सो अवधिभित्र वाणिज्य विभागले तोके बमोजिम मूल्य अभिवृद्धि गरी तयारी मालवस्तु बनाई निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको अभिवृद्धि गरेको मूल्य बराबरको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कच्चा पदार्थ एवं सहायक कच्चा पदार्थको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(७) …………………..